Sunday, June 2, 2013

दुई दिनमा सहमति नभए स्ववियु चुनाव भदौमा

विद्यार्थी संगठनबीच सोमबारसम्म सहमति नबने त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव भदौअघि नहुने भएको छ। असारबाट क्याम्पसहरुमा नियमति बिदा सुरु हुने र प्रतिकुल मौसमको कारण कम्तीमा भदौसम्म कुर्नुपर्ने अवस्था आएको हो।


त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुख गंगबहादुर थापाले असारबाट बर्खे विदा सुरु हुने भएकाले भदौअघि निर्वाचन गर्न सम्भव नभएको बताए। 'असारबाट बर्खे बिदा सुरु हुन्छ। असार–साउन वर्षातको मौसम हो,' थापाले नागरिकसँग भने, 'दुई दिनभित्र सहमति नभए भदौयता निर्वाचन गराउन सकिँदैन।'

निर्वाचन स्थगित भएपछि विद्यार्थी संगठनबीच समस्या हल गर्ने विषयमा छलफल सुरु हुन नसकेको भन्दै थापाले जेठभित्रै निर्वाचन हुने आस नगरेको बताए। भर्नासम्बन्धी विवाद चर्केपछि त्रिवि प्रशासनले जेठ २३ का लागि तय भएको स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित गरेको थियो।

विश्वविद्यालय प्रशासनले प्रमुख विद्यार्थी संगठनबीच विवादित विषयमा समान धारणा नबनेसम्म नयाँ निर्वाचन मिति नतोक्ने जनाएको छ।

विद्यार्थी संगठनहरुले विवादित विषयमा छलफल थालेका छन्। अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले पनि दुई दिनभित्र सहमति नबने निर्वाचन भदौमा धकेलिने भन्दै सहमति प्रयास जारी रहेको बताए।

'विद्यार्थी संगठनबीच यस विषयमा व्यापक छलफल सुरु भएको छ,' ढुंगेलले भने, 'दुई दिनभित्रै सहमति खोज्न चार विद्यार्थी संगठनका अध्यक्षले एक एक गरी सबैसँग वार्ता गरिरहेका छौं। सोमबारसम्म सहमति गरेर नयाँ निर्वाचन तालिका सार्वजनिक गर्ने गरी छलफल भइरहेको छ।'

स्ववियु चुनावको नयाँ मिति तत्काल घोषणा गर्नुपर्ने माग गर्दै नेविसंघ तथा एकीकृत नेकपा माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) ले आन्दोलन सुरु गरेका छन्। नेविसंघले स्ववियु चुनाव मिति तत्काल घोषणा गर्नुपर्ने माग गर्दै शनिबारै आन्दोलनको एक साता लामो कार्यक्रम घोषणा गरेको छ।

No comments:

Post a Comment